Slider

इजरायलले गाजामा यसरी गर्दैछ एआई को उपयोग

काठमाडौं । इजरायली सेनाले गाजामा बम खसाल्ने क्षेत्र पत्ता लगाउन एआई प्रयोग गरिरहेको पाइएको छ । हमासले आक्रमण गरेपछि एआई प्रणाली नै विकास गरेर इजरायल युद्धमा उत्रिएको हो । 

इजरायली पत्रिका +९७२ म्यागेजिनका अनुसार इजरायली सैनिकले गाजामा बम खसाल्न 'ल्याभेन्डर' (Lavender) नामक प्रणाली विकास गरेको छ । यो प्रणाली ७ अक्टोबरमा हमासले हमला गरेपछि इजरायलले विकास गरेको सो पत्रिकाको दाबी छ ।

हालसम्म ल्याभेन्डरले गाजामा हमास लडाकु रहेको ३७ हजार स्थान मार्क गरेको र उनीहरूको हत्या गर्न अनुमति दिएको बताइन्छ । इजरायली सेनाले भने हमास सैनिकमाथि आक्रमण गर्न एआई प्रयोग गरेको विषय अस्वीकार गर्दै आएको छ । यद्यपि ल्याभेन्डर प्रणाली विकास भएको इजरायली सेनाका प्रवक्ताले सीएनएनसँगको अन्तर्वार्तामा स्वीकारेका छन् । 

उक्त प्रणाली निशाना विश्लेषण गर्ने टुल मात्र भएको सीएनएनलाई उनले बताएका छन् । त्यस्तै बमको लक्ष्य अन्तर्राष्ट्रिय कानून र इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नियम अनुसार छ/छैन भनेर स्वतन्त्र रूपमा जाँच गर्ने उद्देश्य अनुरूप उक्त प्रणाली विकास गरेको सेनाको भनाइ छ ।


यता इजरायली इन्टेलिजेन्स अधिकारीहरू (गोप्य स्रोत)लाई उदृत गर्दै बमबारी गर्नुअघि ल्याभेन्डरको लक्ष्यबारे जाँच नगर्नुपर्ने +९७२ ले उल्लेख गरेको छ । त्यस्तै कहिलेकाहीँ सैनिकहरूले लक्ष्य छनोटबारे केही नसोच्ने, बरु कतिपय अवस्थामा पुरुष संख्या हेर्ने र सो स्थानमा बम खसाल्ने गरेको +९७२ ले जिकिर गरेको छ ।

इजरायलले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद अपरेटिभहरूबारेको डेटा प्रयोग गरेर यस्तो शक्तिशाली सर्भिलियन्स एआई टुल विकास गरेको हो । विशेष गरेर गाजाको आन्तरिक सुरक्षा मन्त्रालयका कर्मचारीहरूको डेटा पनि यस टुलको डेटासेटमा राखिएको छ । यस्तै डेटाका आधारमा हमाससँग सम्बन्धित विभिन्न गतिविधि पत्ता लगाउन ल्याभेन्डरलाई तालिम दिइएकाे छ ।

यसको प्रमुख विशेषता भनेकै हमाससँग सम्बन्धित सबै गतिविधिहरूको पहिचान गर्नु हो । यसका लागि गाजामा रहेका प्यालेस्टिनीहरूलाई १ देखि १०० को बीचमा रहेर यस टुलले र्‍याङ्क गर्ने गर्छ ।

हमास गतिविधिसँग ती व्यक्ति कति नजिक छन् भन्ने आधारमा त्यो अङ्क दिइने गर्छ । यदि कोही व्यक्तिले पाएको नम्बर थ्रेसहोल्डबाट कटे उनीहरूमाथि बस बर्साउन इजरायली सैनिक तयार हुन्छन् । सो थ्रेसहोल्ड सधैं परिवर्तन भइरहने र सैनिक अधिकृतले चाहे अनुसार राख्न सक्ने +९७२ ले लेखेको छ ।

यसरी यो प्रणालीले गर्ने काम ९० प्रतिशत सही हुने गर्छ । यसको अर्थ यसले फेला पारेका १० प्रतिशत व्यक्ति हमास गतिविधिसँग सम्बन्धित हुँदैनन् ।

कतिपय अवस्थामा दोस्रो नाम (थर/उपनाम) हमाससँग जोडिकै अवस्थामा पनि यस प्रणालीले उक्त व्यक्तिलाई निसानामा राख्ने गर्छ । त्यस्ता गल्तीहरूलाई समेत इजरायली सैनिक अधिकृतहरूले वेवास्ता गरेको र प्रणालीले देखाएको नतिजा साँचो नभए पनि उनीहरूले ठीक मान्ने गरेको +९७२ ले जनाएको छ ।

यही प्रणालीमा आधारित भएर केही इजरायली अधिकारीहरूले नागरिकहरूलाई समेत निसानामा राख्न र उनीहरूमाथि बम बर्साउन सक्छन् ।

इजरायल-हमास युद्धको प्रारम्भिक समयताका तल्लो स्तरका हमास अधिकारी पहिचान गर्न इजरायली सैनिकले दैनिक १५ देखि २० नागरिकलाई निसाना राख्थे । यहीकारण माथिल्लो तहका हमास अधिकारीलाई पहिचान गर्ने नाममा इजरायलले सयौं सर्वसाधारणको हत्या गरेको बताइन्छ ।

त्यस्तै शंका गरिएका हमास संलग्न व्यक्ति पहिचान गर्न 'where's daddy' नामक प्रणाली पनि इजरायले प्रयोग गरिरहेको छ । यस प्रणाली पनि सोही ल्याभेन्डरमा आधारित छ ।

यसको काम उक्त व्यक्ति आफ्नो घर नपुगुन्जेल उसलाई ट्रयाक गर्नु हो । जब उक्त व्यक्ति घर पुग्छ, त्यसपछि सो स्थानमा इजरायलले बम खसाल्ने गर्छ । त्यसो गर्दा इजरायलले अन्य कुनै पनि विषय नसोच्ने +९७२ ले उल्लेख गरेको छ । तर कतिपय अवस्थामा शंका गरिएका व्यक्ति हमास नहुँदा निर्दोष परिवारको सर्वनाश हुने गरेको छ ।

इजरायल-हमास युद्ध छेडिएपछि इजरायलले यस प्रकारका प्रविधि आक्रमक तरिकाले विकास गरेको छ । प्यालेस्टिनीहरूको डेटाबेस बनाउन इजरायलले फेसियल रेकग्निसन प्रोग्राम सञ्चालन गरेकोबारे गत मार्चमा न्यू योर्क टाइम्सले समाचार लेखेको थियो । जसलाई हमासमा आबद्ध व्यक्ति पहिचान गर्न इजरायलले प्रयोग गरिरहेको बताइन्छ ।

यसको एउटा उदाहरण फेसियल रेकग्निसन प्रविधिबाटै इजरायलले प्यालेस्टिनी कवि मोसाब अबु तोहालाई हमास कार्यकर्ता मानेर पक्राउ गर्नु हो । इजरायलले अबु तोहालाई दुई दिनसम्म हिरासतमा राखेर उनी निर्दोष देखिएपछि मात्रै छाडेको थियो । 

युद्धका क्रममा इजरायलले प्रयोग गरेको अर्को नयाँ एआई टुल हो, द गोस्पाल । हमासले प्रयोग गर्ने भवनहरूको मार्क गर्न इजरायलले यो प्रविधि प्रयोग गर्ने गरेको छ ।

एआई प्रविधिमा आधारित द गोस्पालमा भर पर्दा गाजामा रहेका धेरै निर्दोष सर्वसाधारणले ज्यान गुमाएका छन् । सर्भिलियन्स प्रविधिमाथि इजरायलले आँखा चिम्लेर विश्वास गर्दा बिनाकारण सयौंले मृत्युवरण गर्नु परिरहेको हो ।

सुरक्षा मामलाका जानकारहरू इजरायलले हाल प्रयोग गरिरहेको सर्भिलियन्स प्रविधिको निकै विकसित रूप ल्याभेन्डर प्रणाली भएको बताउँछन् । इजरायलले यस प्रविधिलाई गाजा स्ट्रिप र वेस्ट बैंक जस्ता क्षेत्रमा सक्रिय गराएको अनुमान गरिएको छ । किनकी ती क्षेत्रमा हमास समूह सक्रिय रहेको इजरायलको अनुमान छ ।

इजरायलको यस प्रविधिबाट सशङ्कित भएको सुरक्षा मामलाका जानकार सुनाउँछन् । साथै इजरायली डिफेन्स स्टार्टअपले भविष्यमा यस प्रकारका प्रविधि निर्यात गर्न सक्ने र त्यसले थप सुरक्षा चिन्ता निम्त्याउने उनीहरूको तर्क छ ।

यसकारण युद्धताका अझ धेरै सर्वसाधारण बस्ने गाजा जस्तो ठाउँमा त्यस्ता 'मास सर्भिलियन्स' प्रविधि प्रयोग गर्दा निकै सतर्कता अपनाउनुपर्ने उनीहरू सुझाउँछन् । सकेसम्म त्यस्ता प्रविधिको निर्णयमाथि कदम चलाउनुअघि वास्तविकता जाँच गरेर मात्र पाइला चाल्नुपर्ने उनीहरूको सुझाव छ ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...